अन्तरिक्ष प्रविधिमा चीनको अर्को उपलब्धि, नयाँ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण
अन्तरिक्ष प्रविधिको विकासमा निरन्तर अघि बढिरहेको चीनले नयाँ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गर्दै अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। उत्तरपश्चिमी चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेटमार्फत अन्तरिक्ष यान प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाका अनुसार प्रक्षेपण निर्धारित समय र योजनाअनुसार सफलतापूर्वक सम्पन्न भएको हो। कक्षमा पुगेपछि अन्तरिक्ष यानले उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीलगायत विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्नेछ।
चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त हुने प्राविधिक अनुभव र तथ्याङ्क आगामी अन्तरिक्ष यानहरूको डिजाइन तथा विकासमा प्रयोग गरिने बताएका छन्। यसले भविष्यका अन्तरिक्ष अभियानलाई थप सुरक्षित, किफायती र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।एजेन्सी










