रौतहटमा खेतको विवाद उग्र, तीन महिला गम्भीर घाइते, एक पक्राउ
रौरौतहटको देवाही गोनाही नगरपालिका–५ टीकुलियामा खेतमा घाँस काट्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक बन्दा तीन जना महिला गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सामूहिक कुटपिटमा स्थानीय महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी र छिमेकी ४० वर्षीया अनतिया बिन घाइते भएका हुन्। घाइतेहरूलाई सोमबार राति नै एम्बुलेन्समार्फत बाराको कलैयास्थित ए–प्लस अस्पतालमा लगिएको छ। अस्पताल स्रोतले उनीहरूको आईसीयूमा उपचार भइरहेको र अवस्था क्रमशः सुधारोन्मुख रहेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार महेश तिवारीको तोरीबारीमा घाँस काटिएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा कुटपिट भएको र घाइतेमध्ये एक महिला झगडा छुट्याउन जाँदा उनीमाथि पनि आक्रमण भएको पीडित पक्षले बताएका छन्।
घटनापछि फरार रहेका अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।










