गरुडा इप्रका प्रमुख डीएसपी आचार्यमाथि गम्भीर प्रश्न,जाहेरी नै नलिएपछि आक्रोशित पीडित

कोल्हवी न्यूज
२०८२ माघ २५, आईतवार १७:३२ गते

रौतहट,गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी शंकर प्रसाद आचार्य विवादमा तानिएका छन्। पेट्रोल पम्पमा भएको कुटपिट र कथित लुटपाट घटनामा जाहेरी नै दर्ता नगरेको भन्दै पीडित पक्षले सार्वजनिक रूपमा प्रहरी नेतृत्वको कार्यशैलीमाथि कडा आपत्ति जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारले प्रहरी प्रशासनले न्यायभन्दा ‘मिलापत्र र दबाब’ रोजेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

सामान्य विवाद कि योजनाबद्ध हमला ?
गरुडा–६ शिवनगरस्थित आदर्श आयल स्टोर मा माघ १५ गते राति भएको घटनालाई लिएर दुई फरक दाबी सार्वजनिक भएका छन्।
पम्प सञ्चालक राकेश चौधरीका अनुसार एक युवकले १ सय रुपैयाँको पेट्रोल भरेर पैसा नदिई मोबाइल राखेर गएका थिए। तर केही समयपछि उनी ६–७ जनाको समूहसहित फर्किएर पम्पमा रहेका युवामाथि आक्रमण गरेको आरोप छ।

आक्रमणमा वडा अध्यक्ष रामबाबु चौधरीका छोरा रञ्जित कुमार चौधरी (२५) र रोहित कुमार चौधरी (२२) घाइते भएका छन्। रञ्जितको नाकमा गम्भीर चोट लागेको र उनको काठमाडौंमा शल्यक्रिया हुने तयारी रहेको जनाइएको छ।

पीडित पक्षले घटनाको दृश्य सीसीटीभीमा कैद भएको, भिडियो प्रमाण र उपचार विवरण उपलब्ध रहेको बताएका छन्। साथै आक्रमणकै क्रममा नगद झोला लुट्ने प्रयास भएको र ६५ हजार रुपैयाँ हराएको दाबी गरिएको छ।

“डाँका मुद्दा होइन, अभद्र व्यवहार लेख्नुस” — पीडितको आरोप
पीडित परिवारको आरोप अनुसार, घटनाको भोलिपल्टै नामै किटान गरेर डाँका र ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको हो।“हामीलाई ‘यो मुद्दा लाग्दैन, अभद्र व्यवहारको जाहेरी ल्याउनुस’ भनेर फर्काइयो,”पीडित पक्षले पत्रकार सम्मेलनमा भने।

घटना स्थल प्रहरी कार्यालयबाट करिब ३० मिटर दूरीमा भए पनि प्रहरीको उपस्थिति र तत्परतामाथि गम्भीर प्रश्न उठाइएको छ।
प्रहरी भन्छ — आरोप प्रमाणित छैन
डीएसपी शंकर प्रसाद आचार्यले भने आफूहरूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार घटनाको सीसीटीभी फुटेज अध्ययन भइरहेको छ र घटनामा लुटपाट वा ज्यान मार्ने नियत स्पष्ट नदेखिएको दाबी गरेका छन्।

“घाइतेलाई मेडिकल जाँचका लागि पठाइएको छ। जाहेरी नै नआएको अवस्थामा मुद्दा दर्ता हुन सकेन,”उनको भनाइ छ।
आर्थिक प्रलोभनमा परेको भन्ने आरोपबारे उनले “प्रमाणसहित कुरा आउनुपर्छ” भन्दै प्रतिक्रिया दिएका छन्।

स्थानीयको प्रश्न-प्रहरी नजिकै हुँदा पनि असुरक्षा किन?
स्थानीय बासिन्दाले प्रहरी कार्यालयको छेउमै भएको घटनामा ढिलाइ हुनु र गम्भीर प्रकृतिको उजुरी दर्ता नहुनु सुरक्षा संयन्त्रकै कमजोरी भएको टिप्पणी गरेका छन्।

पीडित पक्षले घटनामा राजनीतिक दबाब र मिलेमतोको आशंका समेत व्यक्त गरेको छ।अब यो घटनाले एउटा मूल प्रश्न उठाएको छ -पीडित न्याय खोज्दा किन अलमलमा पर्छन्, र प्रहरीको ढोका पुग्दा पनि उजुरी किन दर्ता हुँदैन?स्थानीयले निष्पक्ष छानबिन, जाहेरी दर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*