रौतहट दुर्घटनामा ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत दिने रास्वपाको घोषणा

कोल्हवी न्यूज
२०८२ माघ २३, शुक्रबार १५:४६ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ४ वर्षीया बालिकाको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा रास्वपाले पीडित परिवारलाई न्याय दिलाउने र आवश्यक राहत उपलब्ध गराउन पार्टीस्तरबाट पहल भइरहेको जनाएको छ। रौतहट क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा प्रयोग भएको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएपछि घटनालाई गम्भीर रूपमा लिइएको पार्टीले स्पष्ट पारेको छ।

घटना बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ मठियाटोलमा भएको थियो। रास्वपा उम्मेदवार शेख सगिरको प्रचारमा प्रयोग भइरहेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउन पार्टीले कुनै कसर बाँकी नराख्ने उल्लेख छ। साथै घटनाको निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

पार्टीले बालिकाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै चुनावी अभियानमा प्रयोग हुने सवारी साधन सञ्चालनमा उच्च सतर्कता अपनाउन उम्मेदवार, कार्यकर्ता र चालकहरूलाई कडा निर्देशन दिइएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*