मेघालयको कोइला खानी विस्फोटमा खोटाङका दुई दाजुभाइको ज्यान गयो, चार नेपाली गम्भीर घाइते
भारतको मेघालय राज्यमा रहेको कोइला खानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइला खानीमा भएको विस्फोटमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका २४ वर्षीय भाइ सुरेन्द्र खपाङ्गी मगरको ज्यान गएको हो ।
मृतक दुवै जना बराहपोखरी गाउँपालिका–१ स्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही दुर्घटनामा बराहपोखरीकै भञ्ज्याङका बमबहादुर, कर्णबहादुर र नरबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
रोजगारीका लागि मेघालय पुगेका सात जनाको समूहमध्ये बराहपोखरी–वालम्पाका ताराबल मगर मात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबल मगरले फोनमार्फत गाउँमा घटनाको जानकारी गराएका थिए । उनका अनुसार घाइते चार जनाको अवस्था गम्भीर छ र उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।
‘दुर्घटनामा दुई जनाको ज्यान गइसकेपछि म यहाँ शवसँगै पर्खेर बसेको छु,’ ताराबलले भने, ‘यहाँ चिनेजानेको कोही नहुँदा ठूलो समस्या परेको छ । सम्बन्धित निकायको ध्यान जाओस् ।’
स्थानीयका अनुसार मृतक तथा घाइतेहरू गत पुस ३ गते रोजगारीको सिलसिलामा मेघालय गएका थिए । मृतक दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेका थिए । डेढ महिना नपुग्दै यस्तो दुःखद घटना भएपछि परिवार तथा गाउँ शोकमा डुबेको छ ।
खोटाङका विभिन्न स्थानका युवाहरू हिउँदको समयमा कामको खोजीमा मेघालय जाने चलन रहेको स्थानीय बताउँछन् । भारतीय सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने घोषणा गरेका छन् ।










