४८ घन्टामा तीन सनसनीखेज अपराध: मधेशमा हत्या श्रृंखला, चुनावी माहोलमा भय

कोल्हवी न्यूज
२०८२ माघ २२, बिहीबार ०६:५६ गते

मधेश प्रदेशमा ४८ घन्टाभित्र घटेका तीन गम्भीर अपराधका घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ। सिरहा, महोत्तरी र बारामा भएका हत्या तथा हिंसात्मक घटनाले शान्त मानिएको जनजीवनमा असुरक्षाको भावना फैलिएको छ, यद्यपि प्रहरीका अनुसार यी घटना राजनीतिक नभई व्यक्तिगत र पारिवारिक कारणबाट भएका हुन्।

माघ १६ गते दिउँसो करिब ३ बजे सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भयो। सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्याक्टरले जोताइ गरिरहेका बेला उनीमाथि अज्ञात समूहले दुई राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। एक गोली छातीमा र अर्को पिठ्युँमा लागेको थियो, जसका कारण यादवको घटनास्थलमै मृत्यु भयो।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घटनामा संलग्न व्यक्ति हालसम्म पहिचान हुन सकेका छैनन्। “घटनाको जानकारी करिब डेढ घण्टापछि मात्र प्राप्त भयो। वरपर काम गरिरहेका मानिसहरू समेत बोल्न नमान्दा अनुसन्धानमा चुनौती थपिएको छ,” उनले भने। यस घटनाले स्थानीयमा डरको वातावरण बनाएको छ।

यसअघि महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा ७३ वर्षीया रासोदेवी यादवको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो। उनी माघ १४ गते राति सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्। शवको अवस्था शंकास्पद देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने महोत्तरी प्रहरीले जनाएको छ।

त्यसैगरी, माघ १४ गते मध्यराति बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा एकै परिवारमाथि अन्धाधुन्ध हतियार प्रहार भएको थियो। उक्त घटनामा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका ३१ वर्षीय छोरा रामईश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको थियो भने परिवारका अन्य तीन सदस्य घाइते भएका थिए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा रामईश्वरकी श्रीमती मनिता देवी र प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण घटना घटेको खुलेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै फर्किएका धर्मेन्द्रले योजनाबद्ध रूपमा घटना गराएको आशंका गरिएको छ।

यी तीनवटै घटना चुनावी समय नजिकिँदै गर्दा भएकोले प्रतिनिधिसभा निर्वाचनमा असर पर्न सक्ने चर्चा भए पनि मधेश प्रदेश प्रहरी कार्यालयले यसलाई अस्वीकार गरेको छ। प्रहरी प्रवक्ता एसएसपी कमल थापाका अनुसार घटनाहरू राजनीतिक प्रकृतिका होइनन्। “यी अपराध व्यक्तिगत रिसइबी र पारिवारिक विवादबाट प्रेरित छन्, चुनावसँग जोडेर हेर्न मिल्दैन,” उनले स्पष्ट पारे।

यसैबीच, मधेश प्रदेशमा हत्याका घटना निरन्तर भइरहेका तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेशका आठ जिल्लामा ५६ जनाको हत्या भएको छ। तीमध्ये २६ पुरुष, १८ महिला, ९ बालक र ३ बालिका छन्।

सबैभन्दा बढी हत्या सप्तरी जिल्लामा भएको छ भने धनुषा र सिरहा दोस्रो स्थानमा छन्। गत आर्थिक वर्षमा मधेशमा ९९ जनाको हत्या भएको थियो भने त्यसअघिल्लो वर्ष १२७ जनाको हत्या भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

प्रहरीका अनुसार पारिवारिक विवाद, आपसी रिसइबी, लागुऔषध दुव्र्यसन र सामाजिक सञ्जालसम्बन्धी विवाद हत्याका प्रमुख कारण बनेका छन्। बढ्दो अपराध दरले मधेशमा शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*