हङकङमा इन्टरपोलको साइबर अपराध विज्ञ बैठक, विश्वव्यापी सहकार्यमा जोड

कोल्हवी न्यूज
२०८२ माघ २१, बुधबार ०७:५७ गते

हङकङ । इन्टरपोलको साइबर अपराध विज्ञ समूहको वार्षिक प्रत्यक्ष बैठक सोमबारदेखि हङकङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यस बैठकमा ३० भन्दा बढी देश तथा क्षेत्रका १२० भन्दा बढी कानुन कार्यान्वयन निकायका अधिकारी, उद्योग क्षेत्रका विज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

हङकङ प्रहरी बल र इन्टरपोलको संयुक्त आयोजनामा भइरहेको बैठकको मुख्य विषय ‘साइबर अपराधको औद्योगिकीकरणलाई अवरुद्ध गर्ने’ रहेको छ । बैठकले विश्वभर तीव्र रूपमा बढ्दै गएको साइबर अपराधको चुनौतीलाई साझा प्रयास र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सामना गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा हङकङ प्रहरी आयुक्त चाउ यात–मिङले साइबर अपराध नियन्त्रणमा आधुनिक प्रविधि र सार्वजनिक–निजी साझेदारीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सीमापार सहकार्य, बहु–क्षेत्रीय साझेदारी र निरन्तर क्षमतावृद्धि बिना साइबर अपराधविरुद्ध प्रभावकारी लडाइँ सम्भव नहुने स्पष्ट पारे । प्रविधिको दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय स्तरमै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

इन्टरपोलका साइबर अपराध निर्देशक निल जेटनले हङकङलाई अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा उल्लेख गर्दै यस बैठकले साइबर अपराध नियन्त्रणका लागि व्यावहारिक समाधान खोज्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा साइबर अपराधको इकोसिस्टम, अनलाइन जबरजस्ती असुली, कृत्रिम बुद्धिमत्ताको दुरुपयोग तथा भर्चुअल सम्पत्ति ट्र्याकिङजस्ता जटिल र समसामयिक विषयमा विस्तृत छलफल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*