सदस्य राष्ट्रको योगदान नआउँदा संयुक्त राष्ट्रसंघ गम्भीर आर्थिक संकटतर्फ

कोल्हवी न्यूज
२०८२ माघ १७, शनिबार ०९:४७ गते

संयुक्त राष्ट्रसंघले सदस्य देशहरूले तोकेको आर्थिक योगदान समयमै नतिर्दा संगठन छिट्टै गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १ सय ९३ वटै सदस्य राष्ट्रलाई पठाएको पत्रमा आउँदो जुलाईसम्म संगठनको कोष रित्तिन सक्ने अवस्था आएको उल्लेख गर्नुभएको छ।

महासचिव गुटेरेसका अनुसार अनिवार्य योगदान समयमै प्राप्त नभए राष्ट्रसंघका विभिन्न कार्यक्रम, मानवीय सहायता तथा शान्ति स्थापना अभियान नै प्रभावित हुन सक्छन्। सदस्य राष्ट्रहरूको ढिलासुस्तीले संगठनको नियमित कामकाज सञ्चालनमा चुनौती थपिएको बीबीसीले जनाएको छ।

सबैभन्दा ठूलो योगदानकर्ता मानिने अमेरिकाले राष्ट्रसंघको नियमित बजेट र शान्ति स्थापना बजेटमा योगदान दिन अस्वीकार गरेपछि आर्थिक संकट अझ गहिरिएको हो। अमेरिकाले करदाताको पैसाको दुरुपयोग भएको आरोप लगाउँदै केही यूएन एजेन्सीहरूबाट बाहिरिने निर्णयसमेत गरेको छ।

अमेरिकासँगै अन्य केही सदस्य देशहरूले पनि आफ्नो बक्यौता योगदान तिर्न बाँकी राखेका छन् वा भुक्तानी गर्न अस्वीकार गरिरहेका छन्। यद्यपि राष्ट्रसंघ महासभाले सन् २०२५ को अन्त्यतिर वित्तीय प्रणालीमा आंशिक सुधार स्वीकृत गरे पनि संगठन हाल गम्भीर नगद अभावको अवस्थामा रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*