६ महिनामा २ हजार ५७२ सम्पर्कविहीन, मधेसमा बेपत्ता हुनेको अवस्था गम्भीर
मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बन्दै गएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो ६ महिनामा २ हजार ५७२ जना सम्पर्कविहीन भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले पुस महिनामा मात्रै १ हजार ४४८ जना सम्पर्कविहीन भएको जानकारी दिए । तीमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने बाँकी अझै सम्पर्कविहीन रहेका छन् ।
यस्तै, जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशमा चार जनाको मृत्यु भएको छ । सो आन्दोलनबाट प्रदेशका २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख छ । क्षतिको कुल आकलन ५७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा २ करोड ६ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । साथै, विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएकामा ५७९ जना पक्राउ परिसकेका छन् ।
त्यस्तै, बाल सुधार गृहबाट फरार भएका ६८ जनामध्ये २० जना पक्राउ परेका छन् भने ४८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।










