कलैयाको पार्टी प्यालेसमा युवकको रहस्यमय मृत्यु
बाराको कलैया उपमहानगरपालिका–५ स्थित दरबार टोलमा रहेको हिमानी पार्टी प्यालेसमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले ठाकुरको मृत्यु भइसकेको पुष्टि गरेको हो। मृतक ठाकुर बीरगन्जस्थित नवील बैंकको शाखामा मार्केटरका रूपमा कार्यरत थिए।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ठाकुर सप्तरीका मूल निवासी हुन् भने हाल पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–प्रगति नगरमा बसोबास गर्दै आएका थिए। घटनाका बेला सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि उपस्थित रहेको खुलेको छ।
प्रारम्भिक अनुसन्धानमा दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले ठाकुरको मृत्यु उक्त पदार्थको सम्भावित ओभरडोजका कारण भएको हुनसक्ने आशंका गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










