बारामा आमाछोरा हत्याकाण्ड, ‘सुपारी’ अपराधतर्फ मोडिँदै अनुसन्धान
बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको विभत्स हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । आमा–छोराको निर्मम हत्या प्रकरणमा मृतककी पत्नी र उनका प्रेमी पक्राउ परेसँगै यो घटना पारिवारिक कलह मात्र नभई योजनाबद्ध अपराध भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घाँटी रेटेर हत्या गरिएको थियो । प्रहरी अनुसन्धानबाट मृतककी २३ वर्षीया पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो नै हत्याको योजनाकार रहेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मनिताले प्रेमी धर्मेन्द्रसँग मिलेर हत्या योजना बनाएकी थिइन् । धर्मेन्द्र वैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनी माघ १२ गते काठमाडौँ फर्किएपछि योजनालाई कार्यान्वयन गरिएको हुनसक्ने प्रहरीको आशंका छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्ने अवस्था छैन, अनुसन्धान भइरहेको छ, चाँडै सत्य तथ्य बाहिर आउँछ, दोषी कारवाहीबाट उम्किन पाउँदैन ।’
‘सुपारी’ हत्या हुनसक्ने आशंका
प्रहरीले यो हत्या केवल दुई जनाले मात्र नभई अन्य व्यक्तिको संलग्नतामा ‘सुपारी’ दिएर गराइएको हुनसक्ने आशंका पनि गरेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार धारिलो हतियार प्रयोग गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटनामा प्रयोग भएका हतियार, सम्भावित संलग्न व्यक्ति र योजनाको सम्पूर्ण सञ्जाल पत्ता लगाउन विशेष अनुसन्धान टोली खटाइएको छ ।
बाराका प्रहरी प्रमुख एसपी कुँवरले घटनाबारे गहिरो अनुसन्धान जारी रहेको जानकारी दिँदै, ‘यो जघन्य अपराधमा संलग्न सबै व्यक्ति पहिचान गरी कानूनी दायरामा ल्याइनेछ बताए । उनका अनुसार मोबाइल विवरण, सिसी क्यामरा फुटेज, कल रेकर्ड र बयानका आधारमा थप पक्राउ पर्न सक्ने सम्भावना उच्च छ ।
एकै परिवारभित्र भएको यस्तो जघन्य घटनाले परवानीपुर स्तब्ध छ । आमा–छोराको हत्या र बाबु–छोरी गम्भीर घाइते भएको घटनालाई स्थानीयले ‘अकल्पनीय र अमानवीय’ भन्दै दोषीलाई कडा सजायको माग गरेका छन् ।
प्रहरी अनुसन्धानले क्रमशः घटनाको सम्पूर्ण रहस्य खोल्दै लगिरहेको छ । तर प्रारम्भिक निष्कर्षले नै यो हत्याकाण्ड घरेलु विवादको सीमाभन्दा धेरै अगाडि बढेर प्रेम सम्बन्ध, षड्यन्त्र र सम्भावित सुपारी नेटवर्कसम्म पुगेको संकेत दिएको छ ।










