बारा परवानीपुरमा आमा–छोराको निर्मम हत्या, बुहारी पक्राउ
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा भएको आमा–छोराको निर्मम हत्या प्रकरणले नयाँ मोड लिएको छ। घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले मृतककी बुहारीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
घरभित्रै सुतिरहेका बेला धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै ज्यान गएको थियो। घटनापछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया पत्नी मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
प्रहरीका अनुसार बुधबार बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी आक्रमण गरेका थिए। घटनाको प्रकृति शंकास्पद देखिएकाले मनितालाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
उक्त आक्रमणमा परिवारका अन्य सदस्य ५२ वर्षीय जगरुप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूलाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
हत्या कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।











