सर्लाहीको अन्नपूर्ण चिनी उद्योगमा दुर्घटना, मेसिनमा च्यापिएर १९ वर्षीय मजदुरको मृत्यु
सर्लाही जिल्लाको धन्कौल गाउँपालिका–३ मा अवस्थित अन्नपूर्ण चिनी उद्योगमा काम गर्ने क्रममा भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ। उद्योगमा खुवा बनाउने कार्यका लागि प्रयोग हुने मेसिनमा च्यापिँदा धन्कौल गाउँपालिका–४ महिनाथपुरका १९ वर्षीय चुनचुन रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार राय नियमित रूपमा उद्योगमा काम गर्दै आएका थिए। काम गर्ने क्रममा अचानक मेसिनमा च्यापिँदा उनी गम्भीर घाइते भएका थिए र उद्धारको अवसर नपाउँदै घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। घटनापछि उद्योग परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ। घटनाको वास्तविक कारण, मेसिनको अवस्था तथा सुरक्षा मापदण्ड पालना भए–नभएकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
उक्त घटनापछि उद्योगमा काम गर्ने मजदुरहरूको सुरक्षाबारे पुनः प्रश्न उठेको छ। स्थानीयवासी तथा मजदुर पक्षले उद्योगमा सुरक्षा व्यवस्था कडा बनाइनुपर्ने माग गरेका छन्।








