पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका तीन जना विदेशी नेपाल प्रहरीको लागुऔषध नियन्त्रणमा

कोल्हवी न्यूज
२०८२ पुष ११, शुक्रबार ०७:२७ गते

 पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका तीन जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।

त्यसमध्ये एक जनाको भने पेटभित्रबाट लागुऔषध निकालिएको ब्यूरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

हवाईमार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न अन्तरराष्ट्रिय गिरोहका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको हो।

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी थाई नागरिक ४० वर्षीया रुसानी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा सिनामङ्गलस्थित एक होटलमा फेला पारी खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुलभित्र लागुऔषध कोकिन बरामद गरिएको थियो।

सहायक प्रवक्ता निरौलाले भने, ‘थप अनुसन्धानका सिलसिलामा उनले मुखबाट निलेर पेटभित्र लुकाइ ल्याएको अन्य २९ वटा क्याप्सुलसमेत निकालियो, अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगबाट उक्त क्याप्सुल निकाएिको छ, उनीसँग रहेको ४१ प्लाष्टिक कोटेट क्याप्सुल लागुऔषधको तौल ५५० ग्राम रहेको छ।’

लाओसबाट सिङ्गापुर हुँदै काठमाडौं आएका भारतीय नागरिक ५५ वर्षीय जेभिएरलाई निगरानी गर्दै जाने क्रममा काठमाडौंको सिनामङ्गलस्थित सडकबाट पक्राउ गरिएको उनले बताए।

उनको साथमा रहेको सुटकेस रिसिभ गर्न आएका अर्का भारतीय नागरिक २१ वर्षीय मुर्सलिन हुसेनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

उनीहरूमाथि खानतलासी गर्दा उक्त सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइराखेको अवस्थामा लागुऔषध कोकिन तीन किलो ७५० ग्राम फेला परेको सहायक प्रवक्ता निरौलाले बताए।

ब्यूरोले उनीहरूलाई आज अदालतमा पेस गरिएकामा अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*