फरार पाँच अपराधी मकवानपुर प्रहरीको नियन्त्रणमा

कोल्हवी न्यूज
२०८२ पुष १०, बिहीबार १३:१४ गते

अदालतको फैसला कार्यान्वयनबाट जोगिँदै फरार रहेका पाँच अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद सजाय सुनाइएका हेटौंडा उपमहानगरपालिका–९ निवासी ३५ वर्षीय प्रदीप उपाध्यायलाई प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

त्यस्तै चोरी मुद्दामा २५ दिन कैद सजाय तोकिएका मकवानपुरको बाग्मती गाउँपालिका–७ धन्साईका २९ वर्षीय भोजबहादुर कमरलाई पनि गाउँबाटै पक्राउ गरिएको छ।

डाँका मुद्दामा २० हजार रुपैयाँ जरिवाना तोकिएका हेटौंडा उपमहानगरपालिका–४ का २० वर्षीय दिलबहादुर साह पनि फरार अवस्थामै रहेका बेला प्रहरीको नियन्त्रणमा परेका छन्।

यसैक्रममा बकैया गाउँपालिकाका फरार अभियुक्त धनबहादुर मोक्तान तथा वैवाहिक जबरजस्ती करणी मुद्दाका अभियुक्त हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय राकेश दुवेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका पाँचै जनालाई कैद तथा जरिवाना असुलीका लागि बुधबार नै जिल्ला अदालत मकवानपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*