पर्साकाे बहुदरमाई नगरपालिकामा विकास निर्माण ठेक्कामा अनियमितता, प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कोल्हवी न्यूज
२०८२ पुष ९, बुधबार १६:२१ गते

पर्साकाे बहुदरमाई नगरपालिकामा विकास निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र ‘जन प्रतिबिम्ब दैनिक’ का प्रकाशक सञ्जयकुमार साहमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ को सडक कालोपत्रे ठेक्का प्रक्रियामा उनीहरूले आपसी मिलेमतो गरी सरकारी कोषको दुरुपयोग गरेका हुन्। बोलपत्र सूचना सर्वसाधारण र अन्य प्रतिस्पर्धीलाई थाहा नहुनेगरी लुकाइएको थियो र जनप्रतिबिम्ब दैनिकमा मात्र सूचना प्रकाशित भएको भ्रम सिर्जना गरिएको पाइएको छ। तर, आयोगको अनुसन्धानमा पत्रिकामा उक्त सूचना प्रकाशित नभएको पुष्टि भएको छ।

यो सेटिङका कारण नगरपालिकाले विज्ञापनको नाममा ६५ हजार रुपैयाँ भुक्तानी गरेको थियो। अख्तियारले तीनैजनाविरुद्ध उक्त रकम बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही र सजायको माग गरेको छ। सानो रकमको विज्ञापन सेटिङले ठुलो ठेक्कालाई कसरी प्रभावित गर्‍यो भन्ने विषयमा थप कानुनी बहस पनि सुरु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*