बंगलादेशका विभिन्न सहरहरूमा हिंसात्मक प्रदर्शन
एजेन्सी । विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु पछि बंगलादेशका विभिन्न सहरहरूमा हिंसात्मक प्रदर्शन चर्किएको छ। आगामी राष्ट्रिय निर्वाचनलाई लक्षित गर्दै बढ्दो अशान्तिले देशमा थप अस्थिरता फैलिने चिन्ता बढाएको रोयटर्सले जनाएको छ ।
इन्किलाब मञ्चका प्रवक्ता तथा आम निर्वाचनका उम्मेदवार हादीलाई गत शुक्रबार ढाकामा आफ्नो चुनावी अभियान सुरु गर्ने क्रममा अज्ञात मास्कधारी आक्रमणकारीले टाउकोमा गोली हानेका थिए।
सुरुमा उनलाई स्थानीय अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि सिंगापुर लगिएको थियो। छ दिनसम्म लाइफ सपोर्टमा राखिएका हादीको बिहीबार राति मृत्यु भएको हो।
हादीको मृत्युपछि राजधानी ढाकामा व्यापक प्रदर्शन भयो। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा प्रदर्शनकारी भीडले देशका दुई ठूला दैनिक पत्रिका प्रथम आलो र डेली स्टार का कार्यालयहरूमा तोडफोड गरेको देखिन्छ।
प्रदर्शनका क्रममा हादीको नाममा भावनात्मक नाराबाजी गरिएको थियो र दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ।
धेरै क्षेत्रहरूमा रातिसम्म तनावपूर्ण अवस्था रहेकाले थप हिंसा रोक्न प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रहरी प्रशासनले औपचारिक प्रतिक्रिया नदिए पनि दमकल विभागले डेली स्टार को कार्यालयमा लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ।
बंगलादेशमा अगस्ट २०२४ देखि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ।
विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना भारततर्फ पलायन भएपछि सत्ता परिवर्तन भएको थियो। देशको राष्ट्रिय निर्वाचन फेब्रुअरी १२ मा तय गरिएको छ।
हादीको मृत्युपछि राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै युनुसले उनको निधनलाई ‘देशको राजनीतिक र लोकतान्त्रिक क्षेत्रमा अपूरणीय क्षति’ भएको बताए। उनले नागरिकलाई संयम अपनाउन आग्रह गर्दै निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले हिंसाले विश्वसनीय निर्वाचन प्रक्रियालाई कमजोर बनाउने चेतावनी समेत दिए।
अन्तरिम सरकारले शनिबारलाई हादीको सम्मानमा राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। सो दिन राष्ट्रिय झण्डा आधा झुकाइनेछ र देशभर विशेष प्रार्थनाको आयोजना गरिनेछ।
यसैबीच, चिटगाँगसहित अन्य सहरहरूमा पनि हिंसात्मक घटनाका रिपोर्ट भएका छन्। हालै शेख हसिनाको भारत पलायनपछि भारत–बंगलादेश सम्बन्ध बिग्रँदै गएको पृष्ठभूमिमा भारतविरुद्धका प्रदर्शन पनि बढेका छन्।










