बहुप्रतिक्षित मैथिली चलचित्र ‘कलकतियावाली’ अब जनकपुरधामका दर्शकले सिनेमा हलमै हेर्न पाउने भएका छन्। निर्देशक अरुण विजयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आगामी पुस ४ गते जनकपुरधामस्थित आशा सिनेमा हलबाट फिल्म प्रदर्शन सुरु हुने बताए।
सेन्सर पासपछि पहिलोपटक जनकपुरधामबाट औपचारिक रूपमा रिलिज गर्न लागिएको यो फिल्म जनकपुरधामपछि मैथिली दर्शक बढी भएका नेपालका अन्य सहरहरूमा पनि क्रमशः प्रदर्शन गरिनेछ। सामाजिक कथावस्तुमा आधारित यस फिल्मले यसअघि विभिन्न स्थानमा प्रदर्शन भए पनि सिनेमा हलमार्फत जनकपुरधाममा भने पहिलोपटक दर्शकमाझ आउन लागेको हो।
लभ यु मिथिला ब्यानरमा बनेको फिल्ममा श्याम शशी, इशिका भुजेल र रामनारायण ठाकुरको अभिनय रहेको छ। प्रमोद मनोजको संगीतमा तयार भएका सबै गीतहरू दर्शकमाझ लोकप्रिय भइसकेका छन्। निर्माण टिमले २८ लाख रुपैयाँ लगानीमा बनेको ‘कलकतियावाली’ मैथिली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बन्ने विश्वास व्यक्त गरेको छ।









