रौतहटमा ११ विगहा सरकारी जग्गा हिनामिना प्रकरण:शेख मेराज पुर्पक्षका लागि कारागार

कोल्हवी न्यूज
२०८२ मंसिर २५, बिहीबार १५:५६ गते

सञ्जय मिश्रा:रौतहट,सरकारी जग्गामा किर्ते कागजात बनाएर आफ्नो नाममा लालपुर्जा खडा गरेको आरोप लागेका गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजलाई रौतहट जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएको छ।

अदालतले बुधबार गरेको आदेशअनुसार उनलाई गौर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। लामो समयदेखि फरार रहेका मेराजलाई प्रहरीले गत कार्तिक २७ गते विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो।

अनुसन्धान अनुसार मेराजसहितका प्रतिवादीले नेपाल सरकारको नाममा रहेको ११ विगहा ७ कट्ठा १५ धुर जग्गा नक्कली कागजात तयार गरी जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) निकालिएको खुलेको छ। त्यसकै आधारमा मालपोत,भूमिकर रसिददेखि चारकिल्ला प्रमाणित गराएर सरकारी जग्गा हिनामिना गर्ने प्रयास भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार, गैरकानुनी कागजात तयार पार्ने प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारिएको छ। नेपाली प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को पत्र र प्रारम्भिक उजुरीका आधारमा दर्ता भएको मुद्दामा प्रमाण संकलनपछि सरकारी वकिलको कार्यालयमार्फत अभियोजन पत्र अदालतमा पेश गरिएको बस्यालले बताए।

अदालतको आदेशअनुसार शेख मेराजलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*