जनप्रतिनिधिले बिवाहिता महिला भगाउँदा रौतहटमा खैलाबैला
सञ्जय मिश्रा:रौतहट,रौतहटको कटहरिया नगरपालिका–१ का वडा सदस्य सतलाल दासले विवाहित दलित महिलालाई ललाइफकाइ भगाएको आरोप पछि जिल्ला प्रहरी कार्यालय रौतहटले दाससहित भागेकी महिलामाथि पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरेको छ। दासलाई गत ५ गते शुक्रबार गौरस्थित एक ठाउँबाट पक्राउ गरिएलगत्तै मुद्दा दायर गरिएको थियो भने दलित महिलामाथि भने आज (शुक्रवार) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
तीन सन्तानकी आमा महिलालाई उपभोक्ता समितिको सचिव बनाइ दासले प्रेमजालमा पारेर भगाएको परिवारको आरोप छ। चार सन्तानका पिता दासले अर्काकी श्रीमतीसँग सम्बन्ध बढाउँदै घरका पैसा, सुनचाँदीदेखि जग्गासमेत हिनामिना गरेको पीडित परिवारले दाबी गरेको छ।
पीडित महिलाका बुबाका अनुसार २०७२ सालमा विवाह भएकी छोरीसँग दासको आवत–जावत बढेपछि विदेशमा रहेका छोरीका श्रीमानले पठाएको करिब १२ लाख रुपैयाँ, तीन लाख बराबरका सुनचाँदी तथा चारकठ्ठा जग्गासमेत दासले दुरुपयोग गरेको आरोप छ। उक्त जग्गा दासले धरौटी राखेर पैसा निकालेको समेत खुलासा भएको छ।
पछिल्ला केही महिनादेखि महिलाले तीन साना छोरालाई घरमै छाडेर दाससँगै बाराको निजगढमा भाडाको कोठामा बस्दै आएको खुलेको छ। स्थानीयको खोजीपछि दुवै एकै कोठाबाट भेटिएपछि स्थानिय प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा बुझाइए थिए।
प्रहरीका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको पैसा,गहना र जग्गासम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कडा कानुनी कारबाहीको बाटो खुल्ने बताएका छन्। बस्यालले क्षतिपूर्ति अनिवार्य हुने चेतावनी पनि दिएका छन्। हाल दुवैजना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।
घटनाले एकैपटक सात बालबालिकाको भविष्य अन्योलमा पारेको छ भने विदेशमा रहेका नेपाली युवाले परिवारमा पैसा कसको खातामा पठाउने भन्ने संवेदनशील प्रश्नलाई पनि पुनः सतहमा ल्याएको छ।
दास पक्राउपछि जातीय संगठन राष्ट्रिय तत्मा समाज सक्रिय बनेको छ। अध्यक्ष रामबाबु दासको नेतृत्वमा पीडितका पक्षमा निरन्तर दबाब दलिँदै आएको समाजले दोषीलाई कठोर कारबाही गर्न माग गरेको छ।
पूर्व अध्यक्ष राजकुमार दासले न्याय नपाए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।घटना स्थानीय राजनीतिको केन्द्रबिन्दु बनेको छ भने प्रहरी अनुसन्धानपछि दासको राजनीतिक भविष्यमाथि समेत प्रश्न उठेको छ।










