रौतहटमा सशस्त्र प्रहरी द्वारा २ करोड १८ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

कोल्हवी न्यूज
२०८२ मंसिर ७, आईतवार ०७:३० गते

रौतहट:भारतसँग जोडिएको दक्षिणी सीमाक्षेत्रमा तस्करी रोकथाम अभियानलाई तीव्र बनाएका सशस्त्र प्रहरी बल नेपाल नं. ११ हेक्वा रौतहट तथा मातहतका बोर्डर आउट–पोस्ट र अस्थायी बेस क्याम्पहरूले चार महिनामा झण्डै २ करोड १८ लाख रुपैयाँ ४ हजार २७ बराबरको भन्सार छलीका अवैध सामग्री बरामद गर्न सफल भएका छन्।

गत साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा सञ्चालन गरिएका दैनिक गस्ती, विशेष अनुगमन तथा सूचनामूलक अपरेसनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिए।

उक्त अवधिमा बरामद गरिएका सामानहरूमा किराना, कस्मेटिक, लत्ता–कपडा, मोटर पार्ट्स, सालको काठ, मदिरा, भारतीय माछा, भारतीय ब्रायलर कुखुरा, सेतो अण्डा र पटका जस्ता सामग्रीको उच्च मात्रामा बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै स्रोत नखुलेको ७ लाख २ हजार ४०० रुपैयाँ समेत बरामद गरिएको छ।

सामान ढुवानीमा प्रयोग भएका ठूला–साना सवारी साधन पनि प्रहरीले जफत गरेको छ। तथ्यांक अनुसार टिपर १, ट्र्याक्टर २, जेसीबी १, पिकअप २, म्याजिक १, अटो १, कार १, स्कारपियो १, मोटरसाइकल ४८ र साइकल २ गरी जम्मा ५६ वटा सवारी साधन नियन्त्रणमा लिइिएका छन्। यो विवरण सशस्त्र प्रहरी रौतहटका प्रवक्ता डीएसपी दीपेन्द्र थापाद्वारा सार्वजनिक गरिएको हो।

एसपी अधिकारीका अनुसार सीमाक्षेत्रमा तस्करी तथा भन्सार छलीका गतिविधि दैनिक रूपमा हुने भएकाले प्रहरी बल निरन्तर सतर्कतापूर्वक परिचालन गरिएको छ। “सूचनाका आधारमा चलाइएको अभियानले परिणाम देखाएको छ। आगामी दिनमा निगरानी अझ कडाइका साथ अघि बढाइनेछ,” अधिकारीले बताए।

सीमाक्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियता बढेपछि तस्करीमा संलग्न समूहहरू दबाबमा परेको सुरक्षास्रोत बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*