धनुषामा वृद्ध महिलाको हत्या गरी गरगहना लुट्ने महिला पक्राउ
धनुषाको हंसपुर नगरपालिका–७, नुवाखोरमा एक वृद्ध महिलाको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत कात्तिक २४ गते राति करिब ९ बजे ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्। उनी विन्देश्वर दास तत्माकी पत्नी हुन्। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकाको टोली घटनास्थल पुगेर विस्तृत अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा सोही टोलकी ४५ वर्षीया पवित्री देवी मण्डलले चन्द्रकला देवीको हत्या गरी उनको गरगहना लुटेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
उनको साथबाट मृतकका २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र २ थान खुट्टाको कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार पनि प्रहरीले फेला पारेको छ।
धनुषा जिल्ला अदालतबाट म्याद लिएर मण्डलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।










