रौतहटको फतुवा विजयपुर नगरपालिकामा टावर लाइट जडानको भुक्तानी रोकिएको विवाद सिर्जना, ३० प्रतिशत कमिसन नदिएसम्म चेकमा सही नगर्ने आरोप

कोल्हवी न्यूज
२०८२ कार्तिक १९, बुधबार १५:५६ गते

रौतहटको फतुवा विजयपुर नगरपालिकामा टावर लाइट जडानको भुक्तानी रोकिएको विषयले व्यापक विवाद सिर्जना गरेको छ। सप्लायरले नगरपालिका कर्मचारीमाथि ३० प्रतिशत कमिसन मागेको गम्भीर आरोप लगाउँदै अनियमितता सार्वजनिक गरेका छन्।

टावर लाइट जडानका ठेकेदार ललित श्रीवास्तवका अनुसार काम पूर्णरुपमा सम्पन्न भइसकेको र आवश्यक सबै कागजात दुरुस्त भए पनि पछिल्ला छ महिनादेखि भुक्तानी रोकिएको छ। “हाकिमदेखि लेखापाल, इन्जिनियर, जिन्सी र कार्यवाहक मेयरका श्रीमान् शेख सेराज आलमसम्मलाई खाजा–नास्ता र अन्य खर्चका नाममा लाखौँ तिरेको छु। तर ३० प्रतिशत कमिसन नदिएसम्म चेकमा सही नगर्ने अडानमा छन्,” श्रीवास्तवले बताए।

उनले प्रमुख प्रशासकीय अधिकृत भरत यादव, लेखापाल कामेश्वर सहनी, इन्जिनियर मोहम्मद फिरोज आलम र जिन्सी शाखा प्रमुख हरेन्द्र यादवमाथि कमिसन कारोबारको ‘नेटवर्क’ चलाएको आरोप लगाउँदै आफूले जुटाएका अडियो प्रमाण सार्वजनिक गरेका छन्। सो अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा पेश गर्ने तयारी चलिरहेको उनले बताए।

घटनाले स्थानीय तहमा सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ। स्थानीयवासीहरूले दोषीमाथि छानबिन र कडा कारबाहीका लागि सम्बन्धित निकायको हस्तक्षेप माग गरेका छन्। “जनताको करबाट चल्ने कार्यालयमा यस्तो कमिसनको खेल चल्नु शर्मनाक हो,” स्थानीयको प्रतिक्रिया छ।

यस विषयमा नगरपालिकाका अधिकारीहरूबाट आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। घटनाबारे छानबिनका लागि चाँडै अख्तियारमा उजुरी पर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*