काभ्रेमा भिरबाटटिपर भिरबाट टिपर खसेर आगलागी हँदा चालकको जलेर मृत्यु

कोल्हवी न्यूज
२०८२ कार्तिक १९, बुधबार १०:४२ गते

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहानै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सडकबाट करिब १५० मिटर तल खसेको टिपरमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, बा ५ ख ४०७२ नम्बरको टिपर आज बिहान करिब ४:३० बजे अनियन्त्रित भई भिरबाट खसेको थियो। भिरमा खसेर अड्किएको टिपरमा तत्कालै आगो लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक मण्डनदेउपुर नगरपालिका-७, झगारपुर निवासी २८ वर्षीय किसिम राईको घटनास्थलमै जलेर मृत्यु भएको हो। उनको शव चालकको सिटमै स्टेरिङमुनि जलेको अवस्थामा फेला परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सोही स्थानका २२ वर्षीय विक्रम राईको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको शरीरको विभिन्न भाग जलेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी देउपुरबाट टोली घटनास्थल पुगेको थियो। घाइतेको उद्धार गरी अस्पताल पठाएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पाँचखालबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा टोली खटिएको छ।

मृतकको शव मुचुल्का गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*