भारतको आन्ध्र प्रदेश राज्यमा एआई डाटा हब निर्माण गर्न १५ अर्ब अमेरिकी डलर लगानी गर्ने
गुगलको मातृ कम्पनी अल्फाबेटले दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यमा एआई डाटा हब निर्माण गर्न १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । बन्दरगाह शहर विशाखापटनममा निर्माण हुने यो सुविधा १२ वटा देशमा फैलिएको गुगलको एआई केन्द्रहरूको विश्वव्यापी नेटवर्कको एक हिस्सा हुने बीबीसीले जनाएको छ ।
यो अमेरिकाबाहिर विश्वको कुनै पनि ठाउँमा लगानी गर्ने सबैभन्दा ठूलो एआई हब भएको गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थोमस कुरियनले बताउनुभएको छ । उहाँका अनुसार कम्पनीले ५ वर्षभित्रमा १५ अर्ब डलर लगानी गर्नेछ ।
भारत एआई डाटा सेन्टरहरूका लागि एक प्रमुख गन्तव्यको रूपमा देखा परेको छ । कम डाटा लागत र द्रूत गतिमा बढ्दो इन्टरनेट प्रयोगकर्ता आधारले भारत टेक दिग्गजहरूका लागि क्लाउड र एआई विस्तारको केन्द्र बनेको खबरमा उल्लेख छ ।
ब्लूमबर्ग न्यूजका अनुसार यो परियोजना आन्ध्र प्रदेश सरकारको सन् २०२९ सम्ममा ६ गिगावाट डाटा सेन्टर क्षमता विकास गर्ने योजनाको एक हिस्सा हो ।










