मकवानपुरको बकैया गरगरेमा आगलागी २ करोडको बराबरको क्षति, घरधनी जिम्बा घाइते
मकवानपुर,२० भदाै । बकैया गाउँपालिका–५ गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी हुँदा झन्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा ४५ वर्षीय घरधनी लिलाराम जिम्बा घाइते भएका छन्। उनलाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको छ।
प्रहरीका अनुसार, घर अगाडिको बालेको दियोमा पेट्रोलको ड्रम पल्टिँदा अचानक आगो लागेको थियो। आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यसबाहेक नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, लत्ता कपडा र फर्निचर जस्ता सामग्री जलिसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेका टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाका दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगो बिहान करिब ७:४५ बजे लागेको थियो भने ९:४० बजे पूर्ण नियन्त्रणमा आएको थियो।








