रौतहटमा मोबाइल चोरीको झुटो आरोपमा कुटपिटका कारण एक युवकको मृत्यु

कोल्हवी न्यूज
२०८२ भाद्र १५, आईतवार १६:४६ गते

रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरमा मोबाइल चोरीको झुटो आरोपमा कुटपिटका कारण २८ वर्षीय दलित युवक नसिब बैठाको मृत्यु भएको छ । भदौ ११ गते वीरगञ्जस्थित स्पर्श मल्टीस्पेस्यालिटी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार, साउन १६ गते कटहरिया बजारको एक खाजा पसलमा बसेका बेला स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भंगले आफ्नो मोबाइल चोरी भएको आरोप लगाउँदै नसिवमाथि कुटपिट गरेका थिए । पछि उक्त मोबाइल गर्भुदयालकै घरमा फेला परेको थियो ।

कुटपिटको भोलिपल्ट साउन १७ गते दिउँसो गाउँकै सञ्जय यादव, उनका भाइ विजय यादव र बुबा शिवनाथ यादवले नसिबलाई मोबाइल चोरीको आशङ्कामा आँपको बगैँचामा लगेर बेल्ट, साइकलको चेन र मुक्काले निर्घात कुटपिट गरेका थिए । उनीहरूले नसिबलाई उल्टो झुन्ड्याएर चोरी स्विकार्न दबाब दिएको दर्शनले बताए ।

कुटपिट भइरहेको देखेपछि एक स्थानीयले कटहरिया प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले नसिबलाई उद्धार गरी चौकी पुर्‍याएको थियो । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार, मोबाइल चोरीको निवेदनमा छलफल भए पनि आरोप पुष्टि नभएपछि नसिबलाई त्यही दिन साँझ घर पठाइएको थियो ।

कुटपिटपछि नसिबलाई पेट र छातीमा गम्भीर चोट लागेको थियो । चार दिनपछि उनका बुबा बाबुलाल बैठाको मृत्यु भयो । नसिबको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई कटहरियाको जीवन ज्योति अस्पताल, कटहरिया हस्पिटल, गौर अस्पताल हुँदै वीरगञ्ज रेफर गरियो ।

वीरगञ्ज ल्याएर सर्वप्रथम उनलाई नारायणी अस्पतालमा भर्ना गर्न खोजिएको थियो । यद्यपि, आइसियु बेड खाली नपाएपछि उनलाई स्पर्श मल्टीस्पेस्यालिटी हस्पिटलमा भर्ना गरिएको थियो । जहाँ भदौ ११ गते बिहान ३ बजे उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि सोही दिन नसिबको अन्त्येष्टि गरिएको थियो ।

पीडित परिवारले गर्भुदयाल सर्भंग, सञ्जय यादव, विजय यादव र शिवनाथ यादवविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको छ । डिएसपी कार्कीका अनुसार, गर्भुदयाल सर्भंगलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ भने अन्य तीन जनाको खोजी जारी छ ।

नसिबकी श्रीमती गीताले चार साना छोराको लालन पालनको चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् । परिवारका अनुसार, नसिबको उपचारमा साढे ३ लाख ऋण र सापटी खर्च भएको छ । आर्थिक अवस्था कमजोर भएकाले उनीहरू वृद्ध भत्ता र मजदुरीमा निर्भर छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*