´सारा तीर्थ पटक-पटक, गंगासागर एकपटक” : गंगासागर स्नानको महत्व
सञ्जय मिश्रा,कलकता:हिन्दु संस्कृतिमा प्रचलित उखान “सारा तीर्थ बारम्बार, गंगासागर एकपटक” गंगासागर यात्राको महत्वलाई प्रस्ट्याउँछ। यसको अर्थ अन्य तीर्थ स्थानहरूको यात्रा जीवनमा धेरैपटक गर्न सकिन्छ, तर गंगासागरको यात्रा भने जीवनमा कम्तीमा एकपटक गर्नै पर्छ भन्ने विश्वास छ।
गंगासागर, जहाँ गंगा नदी बंगालको खाडीमा मिसिन्छ, हिन्दूहरूका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। विशेषगरी मकर संक्रान्ति का दिन यहाँ स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ। भनिन्छ, गंगासागरमा स्नान गर्नाले सय अश्वमेध यज्ञ र हजार गाई दान बराबरको पुण्य प्राप्त हुन्छ।
कठिन यात्रा र आजको सहजता पहिलाका समयमा गंगासागर पुग्न निकै कठिन हुन्थ्यो, जसकारण सबै श्रद्धालु यहाँ पुग्न सक्दैनथे। यही कारणले पनि “गंगासागर एकपटक” भन्ने भनाइ प्रचलित भयो। तर आधुनिक यातायात र सञ्चार सुविधाले गर्दा आज यो यात्रा सजिलै गर्न सकिने बनेको छ।
गंगासागरको पौराणिक कथा
हिन्दु धर्मग्रन्थअनुसार, गंगासागरको कथा राजा सगर र कपिल मुनि सँग जोडिएको छ।राजा सगरले अश्वमेध यज्ञ गर्दा इन्द्रले घोडा चोरी गरी कपिल मुनिको आश्रम नजिक राखिदिए।घोडा खोज्दै आएका राजा सगरका ६० हजार छोराले कपिल मुनिलाई चोरीको आरोप लगाए।यस आरोपबाट क्रोधित कपिल मुनिले ती सबैलाई श्राप दिँदै भस्म पारे।पछि राजा सगरका वंशज राजा भगीरथ ले कठोर तपस्या गरी गंगालाई पृथ्वीमा ल्याए।
भगवान शिवले गंगालाई आफ्नो जटाबाट पृथ्वीमा अवतरित गरिदिए।
गंगा भगीरथलाई पछ्याउँदै समुद्रमा पुगिन् जहाँ सगरका पुत्रहरूको राख रहेको थियो।गंगाको पवित्र जलले स्पर्श गर्दा सबैलाई मोक्ष प्राप्त भयो।यस घटनाको सम्झनामा गंगासागर नाम प्रसिद्ध भयो र यहाँ हरेक वर्ष मकर संक्रान्तिमा विशाल गंगासागर मेला लाग्छ।
कपिल मुनि मन्दिर गंगासागरको आध्यात्मिक केन्द्र कपिल मुनि मन्दिर हो। यसमा कपिल मुनि, गंगादेवी र राजा भगीरथका मूर्तिहरू स्थापना छन्। श्रद्धालुहरू स्नानपछि यस मन्दिरमा पूजा अर्चना गरी आशीर्वाद लिन्छन्।
धार्मिक महत्व
विश्वास छ, गंगासागरमा स्नान गर्दा सबै पाप नष्ट हुन्छन् र मोक्ष प्राप्त हुन्छ। जसरी अन्य तीर्थ स्थानहरूमा पटक–पटक पुग्न सकिन्छ, गंगासागरलाई जीवनमा एकपटक अवश्य पुग्नुपर्ने स्थानका रूपमा हेरिन्छ।
गंगासागरको भौगोलिक स्थिति
गंगासागर, जसलाई सागर द्वीप पनि भनिन्छ, भारतको पश्चिम बंगाल राज्यको दक्षिण २४ परगना जिल्लामा अवस्थित छ। यो द्वीप कोलकाताबाट करिब १२०–१५० किलोमिटर दक्षिण तर्फ पर्दछ।
यो गंगा नदीको अन्तिम संगम स्थल हो जहाँ गंगा बग्दै आइ बंगालको खाडीमा मिसिन्छ। द्वीप समुद्री सतहमै अवस्थित भएकाले यसको भू–आकृति समथर छ।
गंगासागर पूर्वी भारतको तटीय क्षेत्रभित्र पर्ने भएकाले यहाँको मौसम उष्णकटिबंधीय प्रकृतिको हुन्छ। गर्मीयाममा उच्च तापक्रम र आर्द्रता रहन्छ भने वर्षायाममा पर्याप्त वर्षा हुन्छ।भौगोलिक दृष्टिले, गंगासागर धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व बोकेको स्थान हो। यही कारणले प्रत्येक वर्ष मकर संक्रान्तिको अवसरमा यहाँ लाखौँ श्रद्धालु स्नान गर्न आउँछन्।







