मधेश प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने तयारी

कोल्हवी न्यूज
२०८२ भाद्र ६, शुक्रबार १५:१३ गते

 मधेश प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने तयारी थालेको छ । यस सम्बन्धमा शुक्रबार जनकपुरमा आयोजित बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायत सहभागी भएका थिए ।

आर्थिक सल्लाहकार बैधका अनुसार सम्मेलनको उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक तथा प्राकृतिक स्रोतहरूलाई प्रस्तुत गर्दै स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने हो । सम्मेलनमार्फत सहकार्य र साझेदारीमा आधारित विकास, रोजगारी सिर्जना, र मधेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा उभ्याउने लक्ष्य लिइएको छ ।

कार्यक्रममा कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसर प्रस्तुत गरिने तयारी भइरहेको छ । यसमार्फत प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित भई युवाका लागि रोजगारी सिर्जना हुने, धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि र उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता बलियो हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले लगानी सम्मेलनलाई दिगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणतर्फको महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ । यसका लागि संघीय सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहकार्य गर्दै कार्यक्रमलाई सफल बनाउन तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*