खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली आवश्यकता : मन्त्री यादव

कोल्हवी न्यूज
२०८२ भाद्र ४, बुधबार १६:२१ गते

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता रहेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्।

बुधबार नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को उद्घाटन कार्यक्रममा मन्त्री यादवले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगका लागि वैज्ञानिक अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए। उनले भने, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, प्रदूषण न्यूनिकरण, वातावरणीय संरक्षण र जलवायु परिवर्तनका असरहरू न्यूनिकरणका लागि केन्द्रित छलफल र योजना आवश्यक छ।”

मन्त्री यादवले नागरिकको पहिलो आवश्यकता सुगम खानेपानी आपूर्ति भएको र देशको आर्थिक समृद्धिको आधार पनि यही रहेको उल्लेख गर्दै, जलस्रोतको उपयोग, व्यवस्थापन र संरक्षणमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।

जलवायु परिवर्तन र अनियन्त्रित जनसंख्या वृद्धिका कारण सतही जलस्रोतमा दबाब परिरहेको भन्दै उनले यसको असर भूमिगत जल स्रोतमा तीव्र दोहनको रूपमा देखिएको बताए। तराई मधेसका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रभाव रहेको भए पनि यसको महत्व अझै व्यापक रूपमा बुझिएको छैन उनले बताए।

उनले सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षहरू संघीय तथा प्रदेश सरकारलाई उपलब्ध गराई खानेपानी अभाव भएका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले तराईमा चापाकल सुकेका कारण नागरिकहरूमा खानेपानीको समस्या बढेको बताउँदै, तत्काल राहतसहित दीर्घकालीन समाधानका लागि योजनाबद्ध काम भइरहेको जानकारी दिए। साथै, तलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भूमिगत जलको संरक्षण, दीर्घकालीन उपयोग र जलसङ्कट समाधानमा यस्ता सम्मेलनहरू महत्वपूर्ण मञ्च बन्ने बताए।

कार्यक्रममा नेपाल र विदेशका जल व्यवस्थापन विशेषज्ञ, नेपाल सरकारका विभिन्न निकाय, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूसहित करिब १५० जना भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर र वातावरण विज्ञ सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*