गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृह मन्त्रालयले मुलुकभर फरार अभियुक्त पक्राउमा तीव्रता

कोल्हवी न्यूज
२०८२ भाद्र २, सोमबार १६:४१ गते

गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृह मन्त्रालयले मुलुकभर फरार अभियुक्त पक्राउमा तीव्रता दिएको छ। उनका कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन्।

गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ फरार अभियुक्त पक्राउ परे, जुन अघिल्लो आवको १४ हजार ७६४ अभियुक्तको तुलनामा करिब ६५ प्रतिशत बढी हो। प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, आर्थिक वर्ष २०७९/८० मा मात्रै ११ हजार ९०२ फरार अभियुक्त पक्राउ परेका थिए।

प्रदेशगत विवरण अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ फरार अभियुक्त पक्राउ गरेको छ। त्यस्तै, कोशी प्रदेश प्रहरीले ३,४८९, मधेस प्रदेश ५,७१२, बाग्मती प्रदेश १,७०३, गण्डकी प्रदेश १,४९१, लुम्बिनी ३,९९६, कर्णाली ५५६, सुदूरपश्चिम ९२८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ फरार अभियुक्त पक्राउ गरेको छ।

गत आवमा मात्र रु. १ अर्ब ५० करोडभन्दा बढी जरिवाना रकम असुल गरिएको छ। काठमाडौँ प्रहरी परिसरले देशभरकै सबैभन्दा बढी पाँच हजार ५८५ फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। यस अघि उक्त संख्या आर्थिक वर्ष २०८०/८१ मा १,०६७ मात्र थियो।

त्यसैगरी, गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा सहकारीसम्बन्धी ८२ मुद्दा दर्ता भएका थिए र देशभरबाट ४५ अभियुक्त पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार सीमित स्रोतसाधन र जनशक्तिको अधिकतम प्रयोग गरेर फैसला कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*