सर्लाहीमा विद्यालय बस दुर्घटना: चालक र पाँच विद्यार्थी घाइते
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ फरिद टोलमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थी र चालक घाइते भएका छन्।
ईश्वरपुर नगरपालिकास्थित बयलवासको माउन्ट कञ्चनजङ्घा बोर्डिङ स्कुलको ना.५ ख.७३७३ नम्बरको बस विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।
दुर्घटनामा चालक रामकरण महतो र विद्यार्थीहरू सृष्टी साह , सोनु कुमार महतो , सनी कुमार महतो, सोनम कुमारी महतो र उषा महतो घाइते भएका छन्। सबैको अवस्था सामान्य रहेको र उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।










