कृष्णजन्माष्टमीमा कृष्ण भक्तिमा डुब्यो शान्तिकुञ्ज परिवार
सञ्जय मिश्रा,रौतहट:श्रीकृष्ण जन्माष्टमी पर्व शान्तिकुञ्जको मुख्य सभागारमा उत्साह र श्रद्धाका साथ मनाइएको छ। देश–विदेशबाट आएका साधकहरू, शान्तिकुञ्ज परिवार तथा देवसंस्कृति विश्वविद्यालय परिवारले सहभागिता जनाउँदै कृष्णमय वातावरणमा डुबेर भक्ति रसको आनन्द लिएका छन्।
अखिल विश्व गायत्री परिवारका प्रमुखद्वय श्रद्धेय डा. प्रणव पण्ड्या र श्रद्धेया शैलदीदीले आफ्नो सन्देशमा भगवान् श्रीकृष्ण धर्म, कर्म र प्रेमले भरिपूर्ण दिव्य अवतार भएको उल्लेख गर्दै भन्नुभयो– “उनका लीलाहरू जीवनका प्रत्येक क्षेत्रमा सन्तुलन, प्रेम र निष्ठाका साथ कर्म गर्न प्रेरणा दिन्छन्।”
देवसंस्कृति विश्वविद्यालयका प्रतिकुलपति तथा युवा आइकन डा. चिन्मय पण्ड्याले भन्नुभयो– “कृष्ण भक्ति युवाहरुलाई आत्मिक ऊर्जा दिन्छ। आजको पुस्ताले यदि श्रीकृष्णका आदर्शहरू जीवनमा उतार्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।”
यसअघि कार्यक्रमको सुरुवात कृष्ण भक्ति रसले ओतप्रोत भजनहरूसँग गरिएको थियो, जसमा उपस्थित भक्तजनहरू झुमेका थिए। जन्माष्टमी पर्वका वैदिक कर्मकाण्डहरू विधिपूर्वक सम्पन्न गरिए। यस अवसरमा श्री श्याम बिहारी दूबेजीले भगवान् श्रीकृष्णका विभिन्न लीलाहरू— माखनचोरी, गोवर्धन लीला, रासलीला आदिको भावपूर्ण र जीवन्त प्रस्तुतिमा सबैलाई मन्त्रमुग्ध बनाउनु भयो।
पूरा शान्तिकुञ्ज परिसर भक्ति, उल्लास र आध्यात्मिक ऊर्जाले गुञ्जायमान बनेको थियो। उपस्थित सबैले मिलेर “नन्द के आनन्द भयो, जय कन्हैया लाल की” जस्ता अनेकौँ भजन गाएर भगवान् श्रीकृष्णको अवतरणको उल्लासपूर्ण स्वागत गरेका थिए।










