सप्तरीमा शुक्रबार दिउँसो पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण
राजविराज नगरपालिकाको मुख्य सडकमा शुक्रबार दिउँसो पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बस्नेतका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले यादवको हातमा छुरा प्रहार गरेका थिए। साथै, टाउको र शरीरका विभिन्न भागमा हेलमेटले प्रहार गरी उनीहरू फरार भएका छन्।
घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
नेपाल पत्रकार महासंघ सप्तरीले घटनाप्रति तीव्र आपत्ति जनाउँदै आक्रमणमा संलग्न दुई जना र उनीहरूलाई सहयोग गर्ने मोटरसाइकल चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी र प्रशासन कार्यालयसँग माग गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी छ।










