लहान नगरपालिकाका फनिलाल यादवको हत्या अभियोगमा दुई युवकलाई पक्राउ
लहान नगरपालिका–२४ का ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा दुई युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले पत्रकार सम्मेलनमा बताएअनुसार, धनगडीमाई नगरपालिका–२, भवानीपुरका २३ वर्षीय महेश चौधरी र त्यही स्थान बस्ने १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरी साउन २८ गते जिल्ला अदालतमा अनुसन्धान म्याद थप गरिएको छ।
यादवको हत्या साउन १४ गते धनगडीमाई नगरपालिका–११, आमचोकस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियारले गरिएको थियो। हतियार प्रहारबाट टाउको र कानमा चोट लागेका यादवलाई लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति ८ः२० बजे मृत्यु भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त अनुसन्धान गर्दा घटनास्थल नजिकको सिसिटिभी फुटेजको आधारमा महेश चौधरीलाई साउन २४ गते र अभद्र व्यवहारको अनुसन्धानमा हिरासतमा रहेका प्रशान्त कुमार मण्डललाई साउन २३ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख शर्माले सञ्चारकर्मीहरूको प्रश्नको उत्तरमा बताए, “लागुऔषध अन्तर्राष्ट्रिय स्तरको समस्या हो। यसको नियन्त्रण मात्र प्रहरीले गर्न सक्दैन, सबैको सहयोग आवश्यक छ।”










