बर्दीवास लक्ष्मीनियाँ जंगलबाट अवैध दुम्सी सिकार गर्ने चार जना पक्राउ
बर्दीवास–१० स्थित लक्ष्मीनियाँ जंगलबाट दुम्सीको अवैध सिकार गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही ईश्वरपुर–३ भक्तिपुर नट टोलका अरुण मिस्त्री, रामस्वरुप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्रीलाई बुधबार राति दुम्सीसहित सर्लाहीतर्फ जाँदै गर्दा डिभिजनल वन कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका हुन्।
पक्राउको क्रममा उनीहरूका दुई मोटरसाइकल—बा ८८ प ११६० र बा ५६ प २२४०—सहित ६ थान मरेको दुम्सी बरामद गरिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। बरामद दुम्सी प्लास्टिकका दुई बोरामा राखिएको थियो।
पक्राउ परेका चार जनालाई बर्दीवास–४ स्थित सशस्त्र वन सुरक्षा शाखामा राखिएको छ भने मोटरसाइकलहरू सव–डिभिजन वन कार्यालय लक्ष्मीनियाँमा राखिएको छ। उनीहरूले दुम्सी धनुषा महेन्द्रनगरको हरीपुर क्षेत्रको खेतबाट मारेर ल्याएको बताएका छन्।
सव–डिभिजन वन कार्यालय माइस्थानका प्रमुख कृष्णकुमार पटेलले बताएअनुसार, दुम्सी आरक्षित वन्यजन्तु नभए पनि प्रक्रिया पूरा नगरी सिकार गरिएकोले वन ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको छ।











