भारतको मुम्बईमा तीनदिने युवा जागरण शिविरको शुभारम्भ:डा.ओ.पी. शर्मा

कोल्हवी न्यूज
२०८२ श्रावण २३, शुक्रबार १८:१२ गते

भारत:हरिद्वारस्थित गायत्री तीर्थ शान्तिकुञ्जमा मुम्बईबाट आएका २०० भन्दा बढी युवाहरुको सहभागितामा तीनदिने युवा जागरण शिविरको आज भव्य शुभारम्भ गरिएको छ। शिविरको उद्घाटन राष्ट्रिय जोनल समन्वयक डा. ओ.पी. शर्मा र केन्द्रीय रचनात्मक प्रकोष्ठका समन्वयक श्री केदार प्रसाद दुबेले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।

कार्यक्रमको प्रारम्भमा उत्तरकाशीमा हालै आएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएका दिवंगत आत्माहरुको शान्तिका लागि विशेष प्रार्थना समेत गरिएको थियो।

शिविरको पहिलो सत्रलाई सम्बोधन गर्दै डा.ओ.पी. शर्माले युवाहरुलाई सात्त्विक जीवनशैली अंगाल्न प्रेरणा दिएका थिए। उनले भने,”सात्त्विक जीवनशैलीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुर्‍याउँछ,जसबाट सकारात्मक र उत्कृष्ट विचारहरुको जन्म हुन्छ। यस्ता विचारहरु नै जीवनमा सफलता प्राप्त गर्न आधारशिला बन्ने गर्छन्।”

उनले युवाहरुलाई दैनिक उपासना,साधना र आराधनामा संलग्न हुन प्रेरित गरे। साथै,आफ्नो सोच,चरित्र र व्यवहारलाई सुदृढ बनाउने विविध उपायहरुको पनि जानकारी गराए।

त्यसैगरी, श्री केदार प्रसाद दुबेले गायत्री तीर्थ शान्तिकुञ्ज, युग निर्माण योजना र वेदमूर्ति युगऋषि पं. श्रीराम शर्मा आचार्यको जीवनीका प्रेरणादायी प्रसङ्गहरू प्रस्तुत गरे। उनले भने, “युगऋषिले प्रस्तुत गर्नुभएको भारतीय संस्कृतिमा आधारित जीवनपद्धति व्यक्ति विकासको सम्पूर्ण पक्षहरू— आध्यात्मिक, मानसिक र सामाजिक विकास लाई सम्बोधन गर्छ।”

शिविरको पहिलो दिन युवाहरुलाई योग,यज्ञ तथा व्यक्तित्व विकासका विविध विधिहरुको प्रशिक्षण प्रदान गरिएको थियो। पहिलो दिन नै सहभागी युवाहरुमा विशेष उत्साह देखिएको थियो। उनीहरु सबै अनुशासित ढंगले गतिविधिहरुमा सहभागी भएका थिए र भारतीय संस्कृतिप्रतिको गहिरो रुचि प्रदर्शन गरेका थिए।

शिविरका समन्वयकका अनुसार आगामी दिनहरुमा प्रेरणादायी व्याख्यान,समूह छलफल जस्ता कार्यक्रमहरू संचालन गरिनेछ,जसले युवाहरुलाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरणा दिनेछ।

यो शिविर साउन २५ गते (१० अगस्त) सामूहिक संकल्प कार्यक्रमका साथ सम्पन्न हुनेछ।उक्त अवसरमा सहभागीहरुलाई भारतको उज्ज्वल भविष्य निर्माणका लागि व्यक्तिगत जिम्मेवारी वहन गर्ने प्रेरणा प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*