फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक

कोल्हवी न्यूज
२०८२ श्रावण २२, बिहीबार १५:५९ गते

ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्मको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ। ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ।

मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ। सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ।

एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ। केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो। यसअघि उनी सहायक भूमिकामा सिमित थिए।

आगामी भदौ ६ गतेबाट रिलिज हुने सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ। बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने फिल्मको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ।

त्यति मात्र हैन, ट्रेलरले राजनीति र देशको वर्तमान परिपेक्ष्यको कथा पनि भनेको छ। पात्र माग्नेले भन्छन्- सामान्य जनता भएर बाँच्न गाह्रो रहेछ। भरोसामा आश हुन्छ, आश नभएको देश ज्यूँदो लाश हुन्छ।

शिशिर बाङ्देल ट्रेलरमा राजनीतिज्ञको भूमिकामा छन्। उनले राजनीतिमा चुनाव जित्न भोट र सत्ता चलाउन नोट आवश्यक छ भन्दै व्यंग गरेका छन्।

लव प्रधानको बहुचर्चित गीतको एक अंशले ट्रेलरलाई हास्यप्रधान मात्र नभई ओझिलो राजनीतिक कथा भनेको भान गराउँछ। जहाँ भनिएको छ- लाखौंको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई स्वर्ग छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। ‘इच्छा’ रिलिजको लामो समयपछि फिल्म निर्माणमा फर्केका छन्। निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।

नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*