बेलायतसहित २७ वटा देशले गाजामा चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान

कोल्हवी न्यूज
२०८२ श्रावण ६, मंगलवार १५:३५ गते

तस्वीर : ईपीए

बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

२७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजिमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सप्ताहन्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरायलले चलाएको गोली लागेर एक सय जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको र कुपोषणका कारण अन्य १९ जनाको ज्यान गएको छ ।

इजरायली विदेश मन्त्रालयले भने संयुक्त वक्तव्यलाई अस्वीकार गर्दै त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको खबरमा उल्लेख छ । मन्त्रालयले सशस्त्र समूहमाथि नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमत हुनुको सट्टा झुट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ ।

संयुक्त वक्तव्यमा बेलायतसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड, स्विट्जरल्यान्डलगायत २७ देशका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*