मानवजातिको लागि नयाँ जागरणको सूर्य उदाउँदै: डा.चिन्मय पण्डया
सञ्जय मिश्रा:हरिद्वार भारत,देवसंस्कृति विश्वविद्यालयका प्रतिकुलपति तथा युवा आइकन डा. चिन्मय पण्ड्याले मानवजातिको लागि नयाँ चेतनाको सूर्य उदाउने संकेत मिलेको बताएका छन्।
उनले भने, “जसरी एक भालेले बिहानको आगमनको सूचना दिन्छ, त्यसैगरी हामीले प्रत्येक मानिसमा चेतनाको जागरण ल्याउने कार्य गर्नुपर्छ।”
डा.पण्ड्या माता भगवती देवी शर्माको जन्मशताब्दी तथा अखण्ड दीप प्रकट्यको शताब्दी वर्ष (२०२६) को अवसरमा आयोजना गरिने विविध योजनाहरूको जानकारी दिन आयोजित भर्चुअल मिटिङ्गमा बोल्दै थिए। उक्त अनलाइन मिटिङ्गमा भारतसहित इटली, मौरिसस, अष्ट्रेलिया, क्यानडा, जापान, फिजीलगायत २५ देशका गायत्री परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।
डा. पण्ड्याले विश्वमा भय र चिन्ताको वातावरण फैलिरहेका बेला समाजमा आशा, प्रेरणा र आध्यात्मिक प्रकाश फैलाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले प्रत्येक गायत्री परिजनलाई अखण्ड ज्योति पत्रिकाको प्रतिनिधिको रूपमा समाजमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनका अनुसार जन्मशताब्दी वर्षको पहिलो चरणको आयोजन २०२६ को जनवरी महिनामा हरिद्वारमा हुनेछ भने दोस्रो चरण नोभेम्बर २०२६ मा सम्पन्न गरिनेछ। यसैगरी यस्ता आयोजनाहरू २०३० सम्म प्रत्येक वर्ष सञ्चालन गरिनेछन्।
डा. पण्ड्याले जानकारी गराएअनुसार जन्मशताब्दी ज्योति कलश यात्राहरू भारतसहित दुबई, सिंगापुर, अष्ट्रेलिया, क्यानडा, इंग्ल्यान्ड, लिथुआनिया, दक्षिण अफ्रिकालगायत देशहरूमा सञ्चालनमा छन्। यी सबै यात्राहरू जनवरी २०२६ को आयोजनका लागि शान्तिकुञ्ज, हरिद्वार फर्काइनेछ। त्यसपछि वियतनाम, हङकङजस्ता स्थानहरूमा पनि जहाँ अहिलेसम्म यात्राहरू पुगेका छैनन्, त्यहाँ पठाइनेछ।
जन्मशताब्दी वर्षअन्तर्गत देश तथा विदेशमा जनसम्पर्कका लागि खटिने टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै डा. पण्ड्याले समय अनुसार कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम विभागका समन्वयक श्री श्याम बिहारी दुबेले जानकारी दिएअनुसार शान्तिकुञ्जबाट ५२ वटा जनसम्पर्क टोलीहरू देशभरि भ्रमणमा निस्कनेछन्। प्रत्येक टोलीमा ३ देखि ४ जना प्रतिनिधिहरू हुनेछन्, जसले जन्मशताब्दी वर्षको सन्देश जनजनसम्म पुर्याउने कार्य गर्नेछन्।
उक्त सघन जनसम्पर्क अभियानमार्फत समाजलाई जागरूक गराउँदै कार्यक्रमहरूमा बढीभन्दा बढी सहभागिता सुनिश्चित गरिनेछ। साथै, क्यानडा, अमेरिका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, जापान, न्यूजील्याण्डलगायत २५ देशहरूका लागि छुट्टाछुट्टै टोलीहरू गठन गरिएका छन्।
टोलीहरूले विदेशी भूमिमा भारतीय संस्कृति र अध्यात्मको प्रचार–प्रसार गर्दै जन्मशताब्दी वर्षको ज्योति त्यहाँसम्म पुर्याउने कार्य गर्नेछन्।










