बाराको प्रसौनी ४मा जनचेतनामूलक भोजपुरी गीतको छायांकन सम्पन्न

कोल्हवी न्यूज
२०८२ असार १७, मंगलवार ०८:१७ गते

कोल्हवी:बारा जिल्लाको प्रसौनी गाउँपालिका–४ स्थित मनमोहक हरियाली र ग्रामीण परिवेशमा आधारित भएर निर्माण गरिएको एक जनचेतनामूलक भोजपुरी गीतको छायांकन कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त गीत प्राकृतिक सौन्दर्य, कृषिप्रधान जीवनशैली तथा बर्षायामसँग सम्बन्धित जनचेतनालाई केन्द्रमा राखी निर्माण गरिएको हो। गीतमा बर्षायामको महत्व, खेतबारीमा पानीको उपयोग, हरियालीको संरक्षण, तथा ग्रामीण जनजीवनमा मौसम परिवर्तनले पार्ने प्रभावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा स्वर चर्चित गायक रंजीत पाण्डेयको रहेको छ भने शब्द तथा संगीत न्यू लाइफ रंजीत यादवले सम्हालेका छन्। गीतको छायांकन न्यू लाइफ ग्रुपको व्यावसायिक टिमले सम्पन्न गरेको हो। गीतको दृश्य संरचना विशेषगरी गाउँको हरियाली, खेतबारी, खोलानाला, कच्ची बाटो, वर्षा र ग्रामीण जनजीवनका क्रियाकलापहरू समेट्दै प्रस्तुत गरिएको छ।

विशेषता स्वरूप, छायांकनमा स्थानीय बासिन्दाहरूको समेत सहभागिता सुनिश्चित गरिएको थियो। गाउँका किसान, महिलाहरू, बालबालिका लगायतलाई गीतमा स्थान दिइँदा स्थानीयपन झल्किने भावनात्मक सम्बन्ध निर्माण भएको छ।

न्यू लाइफ ग्रुपका अनुसार गीतले बर्षायामको महत्व मात्र होइन, ग्रामीण क्षेत्रका जनजीवनमा आउने समस्या र समाधानप्रति जनचेतना फैलाउने उद्देश्य राखेको छ। निर्माण पक्षले गीतलाई चाँडै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

गीतको माध्यमबाट दर्शक–श्रोताले प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै सामाजिक सन्देश समेत ग्रहण गर्न सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*