दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादी रौतहटबाट पक्राउ
अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लागूऔषध कारोबार, बैंकिङ कसुर, जालसाजी, चोरी, ठगी र कुटपिटजस्ता अपराधमा संलग्न उनीहरूलाई विशेष प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार, अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत फरार प्रतिवादीहरूको खोजी तथा नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको थियो।
पक्राउ पर्नेहरूमा ३ महिनादेखि २ वर्षसम्म कैद सजाय पाएका र रु २ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएका व्यक्तिहरू छन्।प्रहरीका अनुसार, सबै प्रतिवादीलाई रौतहट जिल्ला अदालतमा बुझाइएको छ र उनीहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
प्रहरीले हाल पनि अन्य फरार दोषीहरूको खोजीलाई निरन्तरता दिइरहेको जानकारी दिएको छ। सार्वजनिक सुरक्षा कायम गर्न दोषीहरूलाई कानूनको दायरामा ल्याउने अभियान अझ तीव्र बनाइने प्रहरीले जनाएको छ।










