बहुदरमाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव निलम्बनमा

कोल्हवी न्यूज
२०८२ असार ९, सोमबार १६:५३ गते

बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव निलम्बनमा परेका छन्। गैरकानूनी कर्मचारी नियुक्ति गरी आफ्नो खातामा रकम जम्मा गर्न लगाएको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारीअनुसार, श्रीवास्तवमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ र दफा १७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ। उनी यही २०८२ असार ६ गते पक्राउ परेका थिए।

अनुसन्धान अधिकृत सञ्जय भण्डारीका अनुसार, श्रीवास्तवलाई थुनामा राखी अनुसन्धान गर्नका लागि असार ६ गतेबाटै लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाडौंबाट असार ८ गते म्याद थप भएको थियो। सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक यसरी थुनामा रहेका अवस्थामा स्वतः निलम्बनमा रहने कानूनी प्रावधान रहेकोले सोहीबमोजिम निलम्बन गरिएको अख्तियारले जनाएको छ।

निलम्बनमा परेका श्रीवास्तव यसअघि पर्साको पोखरिया नगरपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत थिए। अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*