पर्सामा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी २३ वर्षीय सफि राजा मियाँलाई आफ्नै पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
उनकी पत्नी, २१ वर्षीया लालबिबी खातुन, शनिबार राति आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको विवरण संकलन गरी शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको थियो।
प्रारम्भिक अनुसन्धानमा खातुनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले उनका पति सफि राजा मियाँमाथि निगरानी बढाएको थियो। अनुसन्धानको क्रममा उनीमाथि हत्या गरेको ठोस आशंका पुष्टि भएपछि आइतबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
डीएसपी लम्सालका अनुसार मृतक खातुन र उनका पति बीच पछिल्लो समय मनमुटाव रहेको, बोलचालसमेत नभएको, र पति वैदेशिक रोजगारबाट फर्किंदा पत्नीको व्यवहार राम्रो नभएको विवरण अनुसन्धानबाट खुलेको छ। यिनै कारणहरूले आवेशमा आएर मियाँले पत्नीको हत्या गरेको अनुमान गरिएको छ।
हाल मियाँलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










