सिराहाको गोलबजारमा एक किशोरीले प्रेमीमाथि छुरा प्रहार
सिराहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेकी किशोरीले प्रेमीमाथि छुरा प्रहार गरेको घटना सार्वजनिक भएको छ ।
गोलबजार नगरपालिका-१३ दुर्गापुरका २४ वर्षीय अशोककुमार महतोलाई घाँटीमा प्रेमिकाले छुरा प्रहार गरेको बुझिएको छ ।
घाइते महतोको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ, र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, गोलबजार-२ की १७ वर्षीय किशोरीले छुरा प्रहार गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिने क्रममा भएको कुटपिटबाट किशोरी पनि घाइते भएकी छन् र उनको सिराहास्थित प्रादेशिक अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए । “छुरा प्रहारको कारण स्पष्ट हुन बाँकी छ । घाइतेको स्वास्थ्य जाँच र जाहेरीको आधारमा मुद्दा अगाडि बढाइनेछ,” उनले भने ।
स्थानीयका अनुसार, किशोरी पछिल्लो केही दिनदेखि बारम्बार महतोको गोलबजार-४ मा रहेको डेरामा जाने गरेकी थिइन् । बिहीबार अपराह्न पनि किशोरी कोठामा पुगेको केही समयमै विवाद भएको र त्यही क्रममा कोठामा भएको छुराले प्रहार भएको बताइएको छ ।
किशोरीले नियन्त्रणमा लिएपछि आफूमाथि जबरजस्ती गर्न खोजिएको र आत्मरक्षाका लागि छुरा चलाएको दाबी गरेकी छन् । यद्यपि, प्रहरीले यो दाबी अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।










