झापामा चाडपर्वलक्षित अनुगमन : अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रण
चाडपर्व नजिकिएसँगै झापामा अनुगमन तीव्र बनाइएको छ । गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएको हो । असोज १ गतेदेखि अनुगमन सुरु गरेको कार्यालयले जानकारी दिएको छ । २० वटा फर्म, पाँच पेट्रोल पम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाई पसलमा अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको कार्यालयका प्रमुख मुकुन्द चौहानले जानकारी दिए । नवीकरण म्याद सकिएका फर्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको चौहानले बताए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमन कार्यलाई तीव्रता दिएको चौहानले बताए । उपभोक्ताको गुनासो आएपछि झापाका सात वटा सिमेन्ट उद्योगबाट नमुना सङ्कलन गरिएको उनले बताए ।









