पूर्व-पश्चिम राजमार्गमा विनयी त्रिवेणी खोलाको बाढीले यात्रुबाहक बस बगायो

प्रतीकात्मक तस्बिर।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।
काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए।
विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए। ‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’
दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन्। वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन्।










