बाराको दशगजा क्षेत्र घरटहरा हटाइएर अतिक्रमणमुक्त

कोल्हवी न्यूज
२०८२ जेष्ठ ३०, शुक्रबार १६:४९ गते

बाराको विश्रामपुर गाउँपालिका–१, घोडासहन, नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना (घर टहरा) हरूलाई सशस्त्र प्रहरी बल बाराले हटाएको छ।

तीन महिना अगाडि नै दशगजाको सीमा क्षेत्रमा बनेका संरचनाहरूलाई नाप नक्सा गरी खाली गरिने सूचना टाँस गरिएको भए पनि सम्बन्धित पक्षहरूले आफैं हटाउन अटेरी गरेका थिए। त्यसपछि आज बिओपी बरैनिया, एफओबी छतवा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिहर्वाको संयुक्त टोलीले डोजर प्रयोग गरी घर टहरा हटाउने कार्य सम्पन्न गरेको हो।

खालि गराउने क्रममा कुनै वादविवाद नभएको र स्थानीय बासिन्दाहरूले स्वेच्छाले सशस्त्र प्रहरी बललाई सहयोग गरेको सशस्त्र प्रहरी बल न.१२ गण हे.क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी ले जानकारी दिए।

केसीका अनुसार, दशगजा क्षेत्रमा दुवै देशका बासिन्दाहरूले बनाएका Local Occupancy हटाउने अभियान अन्तर्गत यो कारबाही गरिएको हो। उनले भने, “अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार दशगजा क्षेत्र पूर्ण रूपमा खाली रहनुपर्दछ। यहाँ कुनै किसिमका संरचना निर्माण, गोठ बनाउने, वा घरेलु प्रयोगको कामसमेत गर्न पाइँदैन।”

सशस्त्र प्रहरी बलले स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा शान्तिपूर्ण वातावरणमा अतिक्रमण हटाउने कार्य गरेको र स्थानीय नागरिकहरूले पनि उक्त कार्यलाई सफल बनाउन सहयोग गरेका जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*