फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने

कोल्हवी न्यूज
२०८२ जेष्ठ २४, शनिबार १६:११ गते

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको कथामा आधारित भएर बनेको फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रेबेल फिल्म्सले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । फिल्मकी मुख्य अभिनेत्री नीता ढुंगानालाई पीडामा देख्न सकिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरूलाई प्रस्तुत गरिएको छ, जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर विदेशिएका युवा शक्तिको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिमा खाडी मुलुकको सङ्केत गर्ने गगनचुम्बी भवनहरु देखिन्छन् ।

विभोर पोखरेलले निर्देशन गरेको फिल्मका निर्माता गगनलाल प्रधान हुन् । निर्देशक पोखरेलले दर्जनौं म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका छन् भने निर्माता प्रधान दशकौँदेखि गीत सङ्गीत निर्माणमा सक्रिय छन् । फिल्मका लेखक प्रदीप भारद्वाज हुन् ।

नीतासहित प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतको अभिनय रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*