सर्लाहीको बागमतीमा गएराति भएको सडक दुर्घटनामा एक युवकको मृत्यु

कोल्हवी न्यूज
२०८२ जेष्ठ २२, बिहीबार १४:१६ गते

 सर्लाही जिल्लाको बागमती नगरपालिका–११ स्थित बागमती पुल नजिकै गएराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ। मालवाहक कन्टेनरको ठक्करबाट रौतहटको चन्द्रपुर नगरपालिका–१, पौराही टोलका २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो।

सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार पूर्व–पश्चिम राजमार्गमा चन्द्रपुरबाट हरिवनतर्फ गइरहेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनरले बिपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका योन्जनलाई तत्काल मोडेल अस्पताल, कर्मैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल, मलगंवा लैजाने क्रममा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि सर्लाही प्रहरीले मोटरसाइकल, कन्टेनर तथा दुर्घटनामा संलग्न कन्टेनर चालक, मकवानपुर भिमफेदी गाउँपालिका–५ निवासी ३८ वर्षीय ओमबहादुर लामालाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, हरिवन पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*